विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता बीचको प्रतिस्पर्धामा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ मा अवस्थित श्री आधारभूत विद्यालय लक्ष्मीपुर डाबरले पहिलो रनिङ शील्ड जित्न सफल भयो । सिरहा, सप्तरी, धनुषा र महोत्तरीका २३ वटा सामुदायिक विद्यालय मध्ये ‘खानेपानी,सरसफाइ र स्वच्छता’ मा उत्कृष्टता हासिल गर्दै विद्यालयले नगद ४० हजार रुपैयाँ सहित प्रथम रनिङ शील्ड हात पारेको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) र रतौली युवा क्लव (आरवाईसी) द्वारा सञ्चालित ‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता’ कार्यक्रम सञ्चालित विद्यालयहरु बीच मात्र उक्त प्रतिस्पर्धा गराईएको हो ।

कार्यक्रम मार्फत २३ वटै विद्यालयमा आवश्यकताको आधारमा खानेपानी,सरसफाइ र स्वच्छताका संरचनाहरु मर्मत एवं निर्माण गरी विद्यालयले नै स्वमूल्याङ्कन गरी सम्बन्धित नगरपालिका÷गाउँपालिकाको सामाजिक विकास समितिले प्रमाणीकरण गरेको थियो । त्यस क्रममा २३ वटा विद्यालयहरु मध्ये ११ वटा विद्यालयले तीन तारा प्राप्त गरे । तीनै तीन तारा प्राप्त सामुदायिक विद्यालयहरु बीच भने खानेपानी तथा सरसफाइ रनिङ शील्ड प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगिताबाट सिरहाको धनगढीमाई नगरपालिकाको वडा नं। १३ स्थित श्री आधारभूत विद्यालय लक्ष्मीपुर डाबरले प्रथम पुरस्कार प्राप्त गरेको हो ।

खेलकुदको क्षेत्रमा मात्र प्रचलित ‘रनिङ शील्ड प्रतियोगिता’ विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पहिलो पटक मधेस प्रदेशको ६ वटा जिल्लामा सुरुवात गरेको हो । युनिसेफ नेपालले यो अवधारणा अनुसार यस अघि बारा र रौतहटका २२ वटा सामुदायिक विद्यालयहरु बीच प्रतिस्पर्धा गराई पुरस्कार वितरण गरिसकेको छ ।

‘विद्यालयमा खानेपानी, सरसफाइ र स्वच्छता’ कार्यक्रम सञ्चालनको क्रममा विद्यालयको योगदान, मर्मत सम्भार कोषमा विद्यालयमा जम्मा गरेको रकम, बाल क्लवको सक्रियता, विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता संरचनाको नियमित सरसफाइ, किचन गार्डेनको मर्मत सम्भार, खानेपानी तथा सरसफाइ संरचनाको मर्मत सम्भार एवं नियमित पानीको उपलब्धता लगायतको आधारमा तीन तारे विद्यालय मध्येबाट स्वतन्त्र छनौट समूहले पहिलो, दोस्रो, तेस्रो र चौथो विद्यालय छनौट गरिएको जनाएको छ ।

विद्यालय परिवार र सरोकारवाला निकायहरुलाई समेत विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता कायम गर्न थप जिम्मेवार बनाउने हेतुले ‘रनिङ शील्ड’को अवधारणा समावेश गरिएको युनिसेफ नेपालका खानेपानी र सरसफाइ अधिकृत बोध नारायण श्रेष्ठले बताउनुभयो । उहाँले यो अवधारणा अनुसार प्रथम पुरस्कार प्राप्त विद्यालयले उक्त पुरस्कार सुरक्षित राख्ने प्रयत्न गर्नेछन् भने अन्य विद्यालयहरुले पनि प्रथम हुने कोशिश गर्नेछन् । यस्तो प्रतिस्पर्धाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छताको अवस्था सुदृढ हुनेछ ।

First Prize winner school’s Child Club